२३ असोज २०८२
काठमाडौँ - गत वर्षको असोजमा बाढीले ध्वस्त पारेका सडक पुनर्निर्माण हुन नपाउँदै यस वर्षको मनसुनले देशभरका सडक पूर्वाधारमा थप क्षति पुर्याएको छ । २०८२ असोजको तेस्रो साताको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले बीपी, मेचीलगायत मुख्य राजमार्गहरूमा व्यापक क्षति पुगेको छ ।
यसमध्ये सबैभन्दा धेरै क्षति सुदूरपूर्वको लाइफलाइन मानिने मेची राजमार्गमा परेको छ । यो राजमार्ग क्षतिग्रस्त बन्दा सूदुरपूर्वका तीन जिल्लामा सवारी आवागमन ठप्प भयो ।
झापाको चारआलीदेखि ताप्लेजुङसम्म जोड्ने करिब २६८ किलोमिटर लामो यो राजमार्ग ठप्प हुँदा इलाम, पाँचथर र ताप्लेजुङ लगायत जिल्लामा अत्यावश्यक वस्तुको आपूर्ति तथा ढुवानी सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
सडक डिभिजन इलामका अनुसार, क्षतिग्रस्त खण्डहरू मर्मत गर्न कम्तीमा एक साता लाग्ने अनुमान छ भने यसबाट करिब २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
लामो दूरीको वैकल्पिक मार्ग धरान–धनकुटा–म्याङ्लुङ–फिदिम प्रयोगमा ल्याइएको छ । जसले पाँचथर र ताप्लेजुङलाई राहत मिलेको छ । तर इलामका लागि विकल्पमा अहिलेसम्म अन्य सडक सञ्जाल तयार नहुँदा सवारी आवागमन प्रभावित भएको सडक डिभिजन इलामका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर पवन भट्टराई बताउँछन् ।
उनका अनुसार मेची राजमार्गअन्तर्गत इलामको माइखोला खण्डस्थित राजदुवालीमा बुधबारदेखि मर्मत कार्य थालिएको छ । यो खण्ड बन्द भएका कारण इलाममा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
‘यात्रुहरूका लागि भने माइखोलाबाट करिब डेढ किलोमिटर हिँडेर इलामबाट आउने सवारी साधनहरूमा चढ्ने व्यवस्था मिलाइएको छ । यद्यपि, खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको आपूर्ति र अन्य सबै ढुवानीका सेवाहरू बन्द भएका छन्,’ भट्टराइले भने ।
इन्जिनियर भट्टराईका अनुसार यो खण्ड सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने देखिएको छ, किनभने सडक दबिएको छ । उक्त स्थानको मर्मतका लागि भुगर्भविद् ल्याएर अध्ययन गरी मर्मत थालिएको छ ।
राजमार्गका अन्य क्षतिग्रस्त स्थानमा निरन्तर मर्मत कार्य भइरहेको छ । समग्र मेची राजमार्ग पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन । काम गर्दै जाँदा आउने अवस्था अनुसार अघि बढ्नुपर्ने भएकाले कति समय लाग्छ भन्न सकिने स्थिति नरहेको भट्टराईले उल्लेख गरे ।
बीपी राजमार्ग शनिबारसम्म सञ्चालनमा ल्याउने तयारी, मर्मत जारी
यसै राजमार्गको राजदुवाली खण्डको मर्मत गरी इलामलाई तराईसँग जोड्न राँकेतर्फबाट सडक खुलाउने प्रयास गरिरहेको इन्जिनियर भट्टराईले जानकारी दिए ।
उनले भने, ‘तत्कालका लागि डेढ किलोमिटर जति सडक खुलाउन बाँकी छ र यसलाई बिहीबार दिउँसोसम्ममा सवारी आवागमनका लागि सुचारु गर्ने गरी काम गरीरहेका छौँ ।’
हाल यस खण्डमा मर्मतका लागि ५र६ वटा उपकरण परिचालन गरि मर्मत कार्य भइरहेको छ ।
कुन–कुन स्थानमा कति सडक क्षति
सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार मेची राजमार्गमा बाढीका कारण मेची राजमार्गको जोरकलास भन्ने स्थानमा एक हजार मिटर सडक क्षति पुगेको छ । यस्तै फिक्कल गोदाकमा ८ सय, गोदाक माइखोलामा २ हजार मिटर, माइखोला राजदुवालीमा १ हजार ७ सय मिटर, इलाम धोवीधारामा १५ मिटर, धोवीधारा नेपालटार ५ हजार ९ सय मिटर, नेपालटार राँकेमा ६ हजार मिटर, राँके फिदिममा ४ हजार ५ सय मिटर सडकमा क्षति पुगेको विभागले जनाएको छ ।
दुई अर्बभन्दा बढी क्षति
यो सडक क्षतिग्रस्त हुँदा २ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ ।
सरकारले मेची राजमार्गको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको सचिवालयले उक्त लागत अनुमान रहेको जानकारी दिएको हो ।
यसैगरी सोही राजमार्गमा पर्ने माइखोला पुलको फाउन्डेसन बगाउँदा ८ करोड बराबर क्षति भएको अनुमान छ । साथै उक्त स्थानमा सिङ्गल स्पानको ८० मिटर लामो स्थायी पुल निर्माणका लागि पनि ४० करोड आवश्यक रहेको जनाएको छ ।
हेवा खोलामा सिङ्गल स्पानको ८० मिटर लामो पक्की पुल निर्माणका लागि ४२ करोड आवश्यक रहेको सडक विभागले जनाएको छ । हेवा खोलामा गत वर्ष क्षति पुगेको थियो ।
करिडोरका पुललाई एक अर्ब आवश्यक
मेची करिडोरमा बाढीका कारण क्षति पुगेका पुल निर्माणमा डेढ अर्ब लागत अनुमान गरेको छ । सडक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार क्षति पुगेका तीन स्थायी पुल निर्माणका लागि मात्रै १ अर्ब ७ करोड आवश्यक भएको जनाएको छ ।
यसमध्ये पुवा खोला बेलिब्रिज ५० मिटरको पुल वासआउट हुँदा ८ करोड बराबर क्षति भएको अनुमान छ । उक्त स्थानमा स्थायी पुल निर्माणका लागि २५ करोड आवश्यक छ ।
यस्तै बाढीका कारण ठाडेखोलामा निर्माणधीन १२ मिटर लम्बाईको आरसीसी पुलको सबस्ट्रक्चर क्षति हुँदा २ करोड रुपैयाँ बराबर क्षति पुगेको अनुमान छ ।
सय मिटर लम्बाइको माइखोला पुल वासआउट भएको छ । जसको ३० करोड क्षति भएको अनुमान गरिएको छ । उक्त पुल भएको स्थानमा १२० मिटर सिंगल स्पानको नयाँ पुलको निर्माणका लागि ६० करोड आवश्यक रहेको विभागले जनाएको छ ।
जोगमाई बेलीब्रिज ४० मिटर वासआउट हुँदा ७ करोड बराबर क्षति पुगेको अनुमान छ । जसको ५५र६० मिटर सिंगल स्पानको नयाँ पुल निर्माणका लागि २२ करोड आवश्यक रहेको छ । यसैगरी माईखोला बज्रदेवी पुलको सब स्ट्रक्चरमा बाढीले क्षति गर्दा २ करोड बराबर क्षति भएको अनुमान छ । यो पुल सामान्य मर्मत गरिनुपर्ने देखिएको जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया